लन्डन – बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने निर्णय गर्नुभएको छ । यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप आफू महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको उहाँले बताउनु भयो।
’एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो’, बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोजिनाले भन्नुभएको छ, ’विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाएर महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं ।’
सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिने आशा उहाँको छ । विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुने तयारी छ ।
आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गर्नुभएको छ । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने प्रण पनि उहाँको छ । युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ’एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने, भूतपूर्व गोर्खा तथा गैर आवासीय नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई सशक्त रुपमा अगाडि लैजाने लगायतमा एजेन्डा उहाँले अगाडि सार्नुभएको छ।
एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उहाँले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरिसक्नुभएको छ ।
