काठमाण्डौं महानगर वडा २७ ले रन्जना लिपि, नेपाली र अंग्रेजीमा बोर्ड राख्न थाल्यो (भिडियोसहित)

काठमाण्डौं महानगरपालिका वडा नम्बर २७ ले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूको नाम नेपालभाषाको रन्जना लिपि साथै नेपाली र अंग्रेजी भाषामा लेखेर बोर्ड राख्ने कामको सुरुवात गरेको छ।

बागमती प्रदेश सभामा नेपालभाषा र तामाङ्ग भाषालाई कामकाजी भाषाको रूपमा मान्यता दिनको लागि बनाएको विधेयक पारीत गरिसकेको हुँदा आफ्नो मौलिक पहिचानको संरक्षण गर्न आफ्नो व्यवसाय, होटल, पसल, कारखानाको साइन बोर्डमा रन्जना लिपिलाई पनि समावेश गर्नको लागि वडा नम्बर २७ को वडा कार्यालयले वडाबासीलाई अनुरोध गरेको छ।

वडा नम्बर २७ का वडा अध्यक्ष योगेश कुमार खड्गीले भाषिक र सांस्कृतिक सम्पदाको विविधता र समृद्धिको पाइलातर्फ बढ्नको लागि वडा प्रयासरत रहेको भन्दै वडा अन्तर्गतका विभिन्न बहाः बही, चोकहरूको पुरानो मौलिक नामहरूलाई संरक्षण गर्नको लागि वडा लागि परेको बताउनु भयो।