ललितपुर– विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छानो फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति गरेको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छानो फेरिएको हो ।
ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले पूर्णरूपमा क्षति गरेको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिनु भयो।
पानी चुहिने समस्याका कारण पटकपटक मर्मत गरे पनि यसपटक भने पूरै छानो फेरिएको प्रमुख भण्डारीले जानकारी दिनु भयो। उहाँले भन्नु भयो, ‘लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या रहेको छ ।’
पानी चुहिने लामपाटीमा वर्षाको समयमा त्रिपाल राखिएको भए पनि हाल त्रिपाल हटाएर छाना फेरिएको छ । छाना फेरिए पनि भूकम्पले क्षति पुऱ्याउँदा लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनर्निर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
छानामा प्रयोग गरिएको झिङ्गटी पुरानो भएको र फुटेका कारण लामपाटीमा पानी चुहिने समस्या रहेको डकर्मी रवीन्द्र प्रजापतिले बताउनु भयो।
उहाँले भन्नुभयो, ‘झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ । तर छानामा बाँदर हिँडेका कारण लामपाटीमा प्रयोग गरेको धेरै झिङ्गटी तलमाथि सरेको र पानी चुहिने समस्या रहेको हो ।
