भक्तपुरको भाज्या पोखरी सर्वसाधारणका लागि खुला

भक्तपुर – भक्तपुरको भाजुपुखू अर्थात भाज्या पोखरी सर्वसाधारणका लागि खुला भएको छ । शिवरात्रिको अवसर पारेर हिजो पुननिर्मित पोखरी र जलेश्वर मन्दिर उद्घाटनसँगै सर्वसाधरणका लागि खुल्ला गरिएको हो ।

भक्तपुर नगरपालिकाले भूकम्पवाट भत्किएका सम्पदा पुननिर्माण गर्ने क्रममा भाज्या पोखरी पनि जीर्णोद्धार गरेको हो । यो पोखरीको अस्तित्व भूकम्प भन्दा अघि नै गुमनाम भएको थियो ।

नगरपालिकाले गठन गरेको ६ सदस्यीय अध्ययन टोलीको प्रतिवेदनमा पोखरीको बीचमा ग्रन्थकुट अर्थात् शिखर शैलीको मन्दिर भएको तथ्य समेटिएपछि त्यही अनुसार मन्दिर निर्माण भएको हो ।

पोखरी उत्खनन क्रममा भेटिएका मूर्ति र प्राप्त सामग्रीका आधारमा त्यहाँ जलेश्वर मन्दिर स्थापना गरिएको छ । पोखरी र मन्दिरलाई परम्परागत र मौलिक शैलीमा नै निर्माण गरिएको छ ।

इतिहासविद् पुरूषोत्तमलोचन श्रेष्ठका अनुसार भाजुपुखू करिब १२ औं शताब्दी पुरानो पोखरी हो ।