गुरुमापालाई भात खुवाइदैं

काठमाडौं- काठमाडौं किलाघलका स्थानीयहरुले आज बेलुकी गुरुमापालाई भात खुवाउन जाँदैछन् । आर्थिक संकटको विच पनि हरेक वर्ष होलि पुर्णिमाको रातमा काठमाडौंको टुडिखेलमा गुरुमापालाई भात दिने परम्परालाई यसपाली पनि स्थानीयबासिन्दाले निरन्तरता दिन लागेका हुन् ।

आज बेलुकी १० बजेतिर किलाघल टोलबाट भात सहितमासु , तरकारीको परिकार तयार गरेर ५ , ६ सय स्थानीयको लावालस्कर सहित टुडिखेलमा गुरुमापालाई भात दिन जाने किलाघल टोलका सदस्य मचा राजा महर्जनले बताउनु भयो ।

किलाघल टोलका स्थानीयले एक मुरी चामलको भात र एउटा राङ्गो मारेर त्यसको मासु गुरुमापालाई खुवाउने परम्परा छ ।

पहिले गुरुमापा नामको राक्षसले काठमाडौं उपत्यकाबासीलाई दुःख दिएको र पछि इटुम्बहालका बज्राचार्यले तारण राखेर उसलाई वशमा लिएर वर्षको एकचोटी मानिसको मासुको सट्टा राङ्गोको मासु र भात दिने शर्तमा टुडिखेलमा राखेको जनविश्वास छ ।