काठमाण्डौ – ललितपुरको खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच आजदेखि काठमाण्डौंमा प्रदर्शन गरिने भएको छ । आज बेलुकी देवगणहरु खोकनाबाट काठमाण्डौंको पचली पुग्नेछन् भने पचली मन्दिरमा लुगा तथा मुकुट लगाएर उनीहरु बाजागाजासहित हनुमानढोका दरवारको नासल चोकमा पुग्नेछन् ।
हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गर्नुपर्ने परम्परा छ । मल्लकालमा रुद्रायणीदेवीको १२ वर्षे नाच नासल चोकमा मल्ल राजाहरुका लागि, त्रिशुल चोकमा तलेजु भवानीका लागि र कालभैरव पछाडिको डबलीमा सर्वसाधारणको लागि देखाउनको लागि प्रदर्शन हुने गर्थ्यो ।
त्यसैकै निरन्तरता अनुसार आज र भोलि नासलचोकमा देवीनाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडिको त्रिशुलचोकमा सिकाली नाच देखाइने छ । यस्तै आउँदो वैशाख ९ र १० गते हनुमानढोका बाहिर रहेको कालभैरव पछाडिको डबलीमा नाच प्रदर्शन हुनेछ ।
जनसमुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका ठाउँमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ ।
खोकनाको ऐतिहासिक रुद्रायणीदेवीको १२ वर्षे नाच गएको बडादशैँदेखि शुरु भएको हो ।
