काठमाण्डौँ– आज विक्रम संवत् २०८१ साल वैशाख १ गते। देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ नयाँ वर्ष मनाइँदैछ।
नेपालीहरूले सफलता र प्रगतिका शुभकामना एकापसका व्यक्तै गर्दै, मिष्ठान्न भोजन र भेटघाटसहित नयाँ वर्ष विशेष पर्वका रूपमा मनाउने गर्छन्। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन्।
बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन्।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।
