काठमाडौँ– ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ ।जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई यःसिका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको जात्रा सुरु गरेको हो ।
महर्जनका अनुसार फुसिंख्यः मनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौँ वर्षअघिदेखि चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समातेर पूजा थाप्दै रथ अगाडि हिँड्छन् । अजिमा द्यः (धामी) हुनेलाई अजिमाको शक्ति आफैँ जागेर आउने गरेको स्थानीय बताउँछन्।
मनमैजु जात्राका लागि तारकेश्वर नगरपालिकाले समेत सहयोग गरेको छ । नगरप्रमुख कृष्णहरि महर्जनले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले सहयोग गरेको बताउनु भयो ।
मनमैजु देवीको नामबाटै यस गाउँको नाम मनमैजु रहन गएको उल्लेख छ । उक्त जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरु गरिएको हो ।
