काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले घर–घरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाएका छन् । आज दल राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । यस वर्ष साउन २ गते बुधबार तुलसी रोप्ने हरिशयनी एकादशी पर्व परेको छ।
सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको छ ।
तुलसीको पूजा आराधना हुने घरलाई तीर्थको रूप मानिन्छ । यस्तो घरमा यमदूतसमेत प्रवेश गर्दैनन् भन्ने विश्वाससमेत छ । तुलसीपत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनुपर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख छ ।
रुघाखोकी, घाँटी दुख्नेलगायत विभिन्न रोग भएकाले तुलसीको पात वा डाँठ पानीमा उमालेर खाएमा निको हुन्छ । तुलसीमा धेरै अक्सिजन हुने भएकाले सनातन धर्मावलम्बीले जीवनको अन्तिम अवस्थामा पुगेकालाई तुलसीको मोठमा सारिदिन्छन् ।
तुलसीको चियासमेत बजारमा पाइन्छ । वैदिक सनातन धर्मअनुसार तुलसी, कुश, शालीग्राम र पिपलको रुखलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । यसैले यी सबैलाई पवित्र मानिन्छ ।
