काठमाण्डौंको प्रख्यात टोल असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु भएको छ । पहिला पहिला ल्हासा ब्यापारीहरु ल्हासामा गएर नेपाल फर्किने समयमा घरमा जानुअघि क्वारेन्टाइनको रूपमा दश दिन सम्म यस घरमा बस्ने भएकाले यस घरलाई यिता चपाः छेँ भन्ने गरिएको हो ।
उक्त ऐतिहासिक यिताः चपाः घर धेरै वर्ष अघिदेखि जीर्ण अवस्थामा रहेको र अहिले उक्त घर काठमाण्डौं महानगर पालिका २७ वडाको वडाअध्यक्ष योगेश खड्गीको नेतृत्वमा पुनःनिर्माणको कार्य शुरु भएको छ । यसको शुभ साइत अनुसार शुक्रबार विहान क्षमापूजा गरिएको हो ।
काठमाण्डौं महानगर पालिका, केन्द्रीय सम्पदा विभागको आर्थिक सहयोगबाट यस घरको पुनःनिर्माण हुन लागेको हो भने यस घरको पुनःनिर्माणको निमित्त २ करोड ४९ लाख जति बजेट छुट्याइएको छ । वडा अध्यक्ष खड्गीले– यस घरको पुनःनिर्माण साढे एक वर्षभित्र सम्पन्न गर्ने सहमति भएको जानकारी दिनुभएको छ ।
त्यसै गरी वहाँले यस घरको तलपट्टि पहिलेदेखि पसल राखेकाहरुलाई पुनःनिर्माण पछि पनि उनीहरूलाई नै पसल राख्न दिने समझदारी भएको कुरा पनि बताउनु भएको छ । यिता चपाः घर पछिल्लो समयमा असन सेवा समितिले रेखदेख गर्दै आइरहेको छ ।
