नेपालभाषा गुगल ट्रान्सलेटमा समावेश

ललितपुर – नेपालभाषा सर्च इन्जिन गुगल ट्रान्सलेटमा समावेश भएको छ। योसँगै अब नेपालभाषामा लेखिएका कुनै पनि वाक्य, शब्द १०० भन्दा धेरै भाषामा उल्था गर्न सकिने भएको छ भने अन्य भाषामा लेखिएका शब्द, वाक्य पनि नेपालभाषामा उल्था गर्न सकिने भएको छ।

हिजोदेखि गुगल ट्रान्सलेटमा  नेपालभाषा समावेश भएको नेपालभाषा गुगल ट्रान्सलेट परियोजना संचालन गर्दै आएको वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्ल्यूएनओ) ले जनाएको छ। सन् २०२१ देखि नेपालभाषालाई गुगल ट्रान्सलेटमा समावेश गर्नका लागि डब्ल्यूएनओले परियोजना संचालन गर्दै आएको हो।

अहिले गुगल ट्रान्सलेटको उल्था गर्ने बटनमा नेपालभाषा (नेवारी) लेखिएको छ भने नेवारीलाई हटाएर नेपालभाषा मात्र राख्नका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आइएसओ)सँग संवादको प्रक्रिया भैरहेको डब्ल्यूएनओले जनाएको छ। परियोजना अन्तर्गत नेपालसहित विभिन्न देशमा रहेका विभिन्न समूहले साढे ३ वर्ष अघिदेखि दैनिक रूपमा अंग्रेजीका वाक्यहरू नेपालभाषामा अनुवाद गर्ने काम गरेको थियो।

गुगलले यसअघि अंग्रेजी, नेपाली, हिन्दीसहित १३३ वटा भाषामा उल्था गर्ने सेवा दिएको हो भने अहिले नेपाल भाषासहित अन्य ११० भाषा थप गरेको छ। गुगलका अनुसार योसँगै  कुल २४३ वटा भाषामा उल्था गर्ने सकिने भएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको गुगलले जनाएको छ ।

गुगलले शुरुमा अंग्रेजी, चिनियाँ, फ्रेन्च, जर्मन, जापनिज, कोरियन, पोर्चुगिज, स्पेनिस र टर्किस भाषामा उल्था गर्ने सेवा प्रदान गरेको थियो भने १० वर्ष अघिदेखि नेपाली भाषामा उल्था गर्न शुरु गरेको हो।