कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

ललितपुर – कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) ले जानकारी दिनुभयो । उहाँका अनुसार नकर्मीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ देखि ११ बजेसम्म नगरपालिकाको कार्यालयमा राखिनेछ ।

मेयर नकर्मीको लामो समयदेखि अस्पतालमा नियमित डायलासिस हुँदै आएको थियो । यही साउन २ गतेदेखि भने स्वास्थ्यमा समस्या बढेपछि उहाँलाई वीर अस्पताल भर्ना गरिएको थियो ।

आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि उहाँले साउन १ गतेदेखि नै उपमेयर शाक्यलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभएको थियो ।

नकर्मी नेपाली कांग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित हुनुभएको थियो ।