साउन महिना भरि सञ्चालन भएको पशुपति कोटिहोममा समापनको मध्यराती भने तनावमा सम्पन्न भएको छ । पशुपति मन्दिरमा एक महिनासम्म चलेको कोटिहोमका एकल आयोजक वा संकल्पकर्ता हुन् बाल योगेश्वर श्री विजय कृष्ण मुर्तिजी महाराज (विष्णु प्रपन्नाचार्य) ले यो एक महिनामा देशका एक से एक धार्मिक अगुवा, कथावाचक, पण्डित अभियन्तादेखि कलाकारसम्मलाई महायज्ञस्थलमा उतारे । यो बीचमा कयौं विवादहरु उब्जिए र पूर्ण रुपमा विवादमा सम्पन्न भयो।
आफूले गरेको दान कहाँ र कसरि प्रयोग हुन्छ अधिकांशले चासो राखेको पाइंदैन । हुन त उनीहरुलाई जबरजस्ति गरेर पैसा असुलिएको पनि छैन । तर यस बिच एउटा पत्रकार श्याम सुन्दर पुडासैनीले यो उठेको रकमको बारे प्रश्न गर्दा प्रश्नकर्ता पत्रकार कुटिएको घटनाले कोटिहोम समूह विवादमा तानिएको छ ।
यतिमा मात्र सिमित भएन राति १० बजेतिर कोटीहोम छेउको पार्किङ स्थलमा आएका कृष्णमूर्ति जी महाराज भनेर चिनिने विजय भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तका सादा पोसाकका प्रहरीले पक्राउ गर्न खोज्दा आफ्नो फेसबुक लाइभमार्फत कृष्णमूर्तिले भने, ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबैजना पशुपति आउनुस् । घटनापछि विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आन्दोलनमा उत्रन समेत आह्वान गरेका छन् ।
यसै बिच काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरेका अनुसार कार्यक्रम आयोजक विजय भण्डारीसँग केही प्रश्नहरू सोध्नका लागि सादा पोशाकका प्रहरीहरू घटनास्थलमा पुगेका थिए । तर, त्यहाँ उपस्थित केही व्यक्तिहरूले प्रहरीमाथि हातपात गरेको उनले बताए । यस घटनामा संलग्न दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको जानकारी उनले दिएका छन् ।
यस घटनालाई लिएर नेपाल पत्रकार महासंघले पत्रकार श्यामसुन्दर पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

