काठमाण्डौं– नेपालमा पहिचानको आन्दोलनको उत्थान गर्ने कार्यमा अग्रणी भूमिका रहेको नेपालभाषा मंकाः खलःको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ । अस्ति भएको मंकाः खलःको तेस्रो (विधिवत रुपमा संस्था दर्ता पछिको पहिलो) साधारण सभाले मंकाः खलःको सदस्यहरुका साथमा भाषा आन्दोलनका चिरपरिचित हस्ती श्री रमेश मान पियालाई नयाँ अध्यक्षको रुपमा चयन गरिएको छ ।
साधारण सभाले खलःको उपाध्यक्ष पदमा बालकृष्ण प्रजापतिलाई चयन गरिएको छ भने सचिवमा राजा शाक्य, कोषाध्यक्षमा अमेश बज्राचार्य र सदस्यहरुमा ज्ञानेन्द्र मानन्धर, माधव स्यस्यः, प्रताप मान शाक्य, महेश मान डंगोल, र रविन साय्मि निर्वाचित हुनुभएको छ ।
मंकाः खलःको यस साधारण सभा ३३ वर्षपछि भएको हो । यस भन्दा अघि मंकाः खलःको पहिलो साधारण सभा स्वयम्भूको आनन्दकुटी विद्यापीठमा भएको हो भने यसपछि ने.सं. १११२ मा दोस्रो साधारण सभा राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । अस्तिको तेस्रो साधारण सभा भने काठमाण्डौं विजेश्वरी ससुख्वातस्थित मंकाः खलःको आफ्नै दबूछेँ (सभागृह)मा सम्पन्न गरिएको हो ।
ने.सं. १०९९ मा पद्मरत्न तुलाधरको अध्यक्षतामा स्थापना गरिएको नेपालभाषा मंकाः खलःको दोस्रो साधारण सभापछि विविध कारणवश निष्क्रिय भईरहेको र तीनवर्ष अघि संस्थापक उपाध्यक्ष दुर्गालाल श्रेष्ठलाई अध्यक्ष बनाई संस्था विधिवत रुपमा दर्ता गरिएको हो । अस्तिको साधारण सभापछि मंकाः खलःका संस्थापक पुस्ता विदावाजी भई पूर्ण रुपमा नै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कार्य भएको हो ।
साधारण सभामा मुख्य अतिथिको रुपमा बोल्नु हुँदै नेवाः अग्रज मल्ल के. सुन्दरले मंकाः खलः नेपालमा भाषा र जातिको आन्दोलन शुरु गर्ने ऐतिहासिक संस्था भएकाले अबको नयाँ नेतृत्वले यस संस्थाको आन्दोलनकारी भूमिकालाई कायम नै राख्नु पर्ने कुरा बताउनु भयो । वहाँले भन्नु भयो, “मंकाः खलः भनेको आन्दोलनको प्रतिक हो, यस संस्था अहिले पनि आन्दोलनकारी नै भइरहनु पर्दछ ।” निर्वाचित भएपछि आफ्ना भनाई राख्नु हुँदै नयाँ अध्यक्ष रमेश मान पियाले संस्थाको आन्दोलनकारी छबिलाई यथावत कायम गरी वित्तीय अनुशासन, पारदर्शिता र सांगठनिक संरचनालाई बलियो बनाउँदै संस्थालाई अगाडि बढाउने बचन दिनुभयो ।
कार्यक्रममा कोषाध्य्क्ष गणेश साय्मिले खलःको हरहिसाव प्रस्तुत गर्नुभएको छ भने, सचिव राजा शाक्य (पुष्पानन्द शाक्य)को प्रतिवेदन रमेश मान पियाले प्रस्तुत गर्नुभएको हो । साथै मंकाः खलःका संस्थापकहरुको संरक्षक समिति बनाउने र कार्य समितिको सदस्य संख्या ७ देखि १३ जना सम्म रहने गरी विधान पनि संशोधन गरिएको छ । नयाँ नेतृत्व चयन गर्नका लागि रामशरण डंगोलको अध्यक्षतामा निर्वाचन समिति गठन गरी निर्वाचन कार्य अघि बढाइएको हो ।
