काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८८ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो ।
गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।
२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।
