सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । डब्ल्युएनओ नेपाल च्याप्टरले हिजो भएको फाइनलमा राष्ट्रिय समाचार समिति (रासस) लाई सडन डेथ ४–३ गोलले हरायो ।

यसअघि सेमिफाइनलमा डब्ल्यूएनओ नेपाल च्याप्टरले ललितपुर वडा १६ कलाकार समितिलाई १–० र राससले टिम एभिएमलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गरेका थिए ।

रासस र एभिएमबीचको निर्धारित समयको खेल गोलरहित बनेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा कलाकार समितिले टिम एभिएमलाई ४–२ ले हरायो । दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । नेवाः पत्रकार राष्ट्रिय दबु ए, नेपाल पत्रकार राष्ट्रिय दबु बी, राष्ट्रिय फोटो पत्रकार समूह, नेवाः कलाकार टिम र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) समूह चरणबाटै बाहिरिएको थियो ।

सो प्रतियोगितामा विजेता टिमका सुमन महर्जन उत्कृष्ट गोलरक्षक, फोनिजका किरण राई सर्वाधिक गोलकर्ता र टिम एभिएमका पुरुषोत्तम वज्राचार्य सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । यसैगरी प्रतियोगिताअन्तर्गत नेवाः महिला पत्रकार टिम र नेवाः महिला कलाकारबिच मैत्री खेल पनि खेलिएको थियो । जसमा पत्रकार टिम २–१ ले विजयी भएको थियो

नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०९औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गर्न लागेको हो । श्रेष्ठको १०८औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ ।