नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः लाई राष्ट्रिय सांस्कृतिक चलचित्र अवार्ड प्राप्त

छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा नेपालभाषाको ‘चिपगु नीलः’ ले राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्र भई अवार्ड प्राप्त गरेको छ ।

आज भन्दा ४० वर्ष अघि कथाकार केशरमान ताम्राकारले नेपालभाषा साहित्य सम्मेलनमा प्रथम पुरस्कार जितेको कथामा आधारित भई निर्माण गरिएको सर्ट फिलम जसमा निरन्तर रुपमा सर्ट फिल्म र म्यूजिक भिडियो दिइरहेका निर्देशक योवन शाक्यले यस फिल्मको निर्देशन गरेका थिए। पतिको मृत्यु पछि आफ्नो जीवनलाई फेरी नयाँ ढङ्गबाट सुरु गर्न खोज्ने एक महिलाको संघर्ष यसमा देखाइएको छ ।

चलचित्रमा नेरिसा महर्जन र मनोज महर्जनको साथमा सुनिता श्रेष्ठ, चिरिबाबु महर्जन, नविन थेच्वमि, गंगा महर्जन, सलिना महर्जन, हसना महर्जन र बाल कलाकार ओसमि रंजितकारले बिजोड अभिनय गरेका थिए ।

चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन गरिएको थियो । राईजिङ मलको दुवै हलमा २ दिनसम्म सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने बेबस्था आयोजक टीमले गरेका थिए ।

महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरु प्रदशर्न भएका छन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रहरुमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जनबढी अन्तराष्ट्रिय चलचित्रहरु प्रदर्शन भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरु र कला प्रदर्शनीसमेत भएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहेको थियो ।