भोताहिति,काठमाण्डौंमा ९० साल अगाडि अस्तित्वमा रहेको फल्चा (पाटी)को पुनर्निमाण गरिएको छ । पुरातत्त्व विभागमा ९० साल अगाडिको उक्त फल्चाको सुरक्षित रहेको फोटोको आधारमा काठमाण्डौं महानगर पालिका २७ वडाले पहिलेकै स्वरूपमा पुनर्निमार्ण गरिएको हो ।
ऐतिहासिक र पुरातात्विक रूपले महत्वपूर्ण उक्त फल्चा यस प्रकार भोताहितिमा पुनर्निमार्ण भएकोमा स्थानीय वासिन्दा र बटुवाहरु आश्चर्यका साथ खुशी भएका छन् । अघिपछि कहिल्यै नदेखिएको उक्त फल्चा यसरी देखिएपछि सोधपुछ समेत गर्ने गरिएको छ ।
भोताहिति गणेशथानको पछाडि र साझा भण्डारको अगाडि यसरी फल्चा पुनर्निर्माण गरिएपछि उक्त स्थान नै सम्पदामैत्री भएको देखिएको छ ।
भोताहितिमा १९९० साल अगाडि यस फल्चा अस्तित्वमा रहेको प्रमाण पुरातत्त्व विभागमा रहेकाले त्यसैका आधारमा फल्चा पुनर्निमार्ण गरिएको भनी काठमाण्डौं महानगरपालिका वडा २७ का वडाध्यक्ष योगेश खड्गीले बताउनु भएको छ । त्यसैगरी, यस स्थानमा २०४२ सालमा अस्तित्वमा रहेको एउटा फल्चा पनि भत्किएर गएको कुरा वडाध्यक्ष खड्गीले बताउनु भएको छ ।
काठमाण्डौं महानगरपालिका २७ वडाले, यस अघि असन, कमलाछि प्रवेश गर्ने मूलबाटोमा पहिले सिंह भएको प्रमाण भेटिएको प्रसंगमा त्यहाँ पनि बाटोको दायाँ बायाँ ठुलो दुईवटा सिंह राखिएको हो ।
यसै क्रममा २७ वडाले असन टोलको पहिचानको रूपमा रहेको यता चपाः भत्किएर जीर्ण भएकाले त्यसको पनि पुनर्निमार्ण गरिएको छ भने यस पुनर्निमार्णको का लगभग अन्तिम चरणमा पुगेको छ । यता चपाः असन टोलकै महत्वपूर्ण सम्पदा हो भने, पुराना स्थानीय बासिन्दाहरूले यता चपातमा पहिले पहिले ल्हासा गई फर्किन्दा आधा महिना सम्म यस चपातमा रहने गर्दथे । आजकलको भाषामा भन्ने हो भने यो एक किसिमले क्वारेन्टाइनमा रहने ठाउँ हो ।
त्यसै गरी, २७ वडा असन भित्रका महत्त्वपूर्ण देवता नारायण देवताको पुनर्निमार्णको काम पनि समाप्त भएको छ भने असन टोलको प्रख्यात दबलि पहिले जस्तो थियो, त्यसै गरी प्रयोगमा ल्याइएको छ ।
