इरानमा अलपत्र परेका नेपाली र श्रीलंकाली नागरिकलाई भारतले स्वदेश फर्काउने

भारतले इरानमा अलपत्र रहेका नेपाली र श्रीलंकाली नागरिकलाई स्वेदश फर्काउने भएको छ।

भारतीय अधिकारीहरूलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले ‘छिमेकी प्रथम नीति’का आधारमा नेपाली र श्रीलंकाली नागरिकलाई स्वदेश फर्काउन लागिएको उसले जनाएको छ।

छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतले शनिबार इरानमा अलपत्र परेका र फर्कन चाहने नेपाली तथा श्रीलंकाली नागरिकहरूलाई पनि उद्धार गरी स्वदेश पठाइउने जनाइएको छ।

दिल्लीस्थित अधिकारीहरूले द्वन्द्व, प्राकृतिक प्रकोप वा महामारीजस्ता संकटको बेला भारतले सधैं आफ्ना छिमेकीहरूलाई प्राथमिकताका साथ सहयोग गरेको स्मरण गर्दै यो पटक पनि सोही गर्न लागेको जनाएको छ।

भारतले इरानी विमान सेवाबाट आफ्ना नागरिक दिल्लीमा ल्याइरहेको छ। शनिबार २ वटा विमान मार्फत नागरिकहरुलाई स्वदेश फर्काएको थियो। तेहरानस्थित भारतीय दूतावासले एक्समा एक पोस्ट गर्दै नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा, इरानमा भारतीय दूतावासद्वारा सञ्चालन गरिने उद्धार अभियानमा ती दुई देशका नागरिकहरू पनि समेटिने उल्लेख गरेको छ।

दूतावासले थप जानकारी दिँदै नेपाल र श्रीलंकाका नागरिकहरूले तुरुन्तै दूतावाससँग टेलिग्राम च्यानल वा निम्न आपतकालीन नम्बरहरूमा सम्पर्क गर्न भनेको छ।

+98 9010144557, +98 9128109115, +98 9128109109 भारतको सहायता प्रति परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतले इरानमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न गरेको सहयोगप्रति आभार व्यक्त गरेकी छन्।

एक्समा एक पोस्ट गर्दै उनले भारतका विदेशमन्त्री एस. जयशंकरलाई ‘नेपाली नागरिकलाई उद्धार गर्न भारतले दिएको तत्कालीन सहयोगप्रति धन्यवाद’ ब्यक्त गरेकी छिन्। स्रोतलाइ उदृत गर्दै इन्डियन एक्सप्रेसले झण्डै १६ जना नेपाली नागरिक सम्पर्कमा रहेको जनाएको छ।

श्रीलंकाले पनि भारतलाई आफ्ना नागरिकलाई गरेको सहयोग प्रति धन्यवाद ब्यक्त गरेको छ। यसैबीच, भारतले हालसम्म इरानबाट ८२७ जना भारतीय नागरिकको उद्धार गरिसकेको छ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले भने, ‘२१ जुनको साँझ १६:३० बजे माशहदबाट ३१० जना भारतीय नागरिक लिएर अर्को उद्धार विमान नयाँ दिल्ली अवतरण गर्यो। यससँगै हालसम्म ८२७ जना भारतीय नागरिक उद्धार भइसकेका छन्।’

शुक्रबार राति र शनिबार बिहान, झन्डै २९० जना भारतीय नागरिक (जसमध्ये धेरैजसो विद्यार्थीहरू थिए) इरान–इजरायल युद्ध चर्किंदै गएका बेला उद्धार गरेर दिल्ली ल्याइएको थियो।

बुधबार भारतले आफ्ना नागरिकको उद्धारका लागि ‘अपरेसन सिन्धु’ सुरु गर्ने घोषणा गरेको थियो। जैसवालले एक्मा लेखेका छन्, ‘अपरेसन सिन्धुमार्फत भारतीय नागरिकहरू स्वदेश फर्किए। २० जुनको राति २३:३० बजे २९० जना भारतीय नागरिकलाई लिएर एउटा चार्टर्ड विमान नयाँ दिल्ली आइपुग्यो। सचिव अरुण चटर्जीले विमानमा ओर्लेका यात्रुहरूलाई स्वागत गरे।’

उनले भारत सरकार इरान सरकारप्रति आभार ब्यक्त गरे।