ललितपुर – ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण हरिसिद्धिमा अवस्थित त्रीशक्ति भवानी मन्दिरमा निर्माण गरिएको चाँदीको तोरण मंगलबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। तोरण उद्घाटन अघि विधि अनुसार पुजा गरिएको थियो हरिसिद्धि मन्दिरका देवगणका च्याभू धन बहादुर महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभासद् माननीय रघुनाथ महर्जनले परम्परागत विधिअनुसार पानसमा दीप प्रज्वलन गरी तोरणको औपचारिक उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उप–प्रमुख मञ्जली शाक्य बज्राचार्य, वडा नं। २८ का अध्यक्ष विरेन्द्र महर्जन, वडा नं। २९ का अध्यक्ष गणेशकुमार महर्जन, मूर्ति व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बसु राम महर्जन र तोरण व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष राजन महर्जनको विशेष उपस्थिति रहेको थियो। तोरण निर्माणमा बागमती प्रदेश सरकार, ललितपुर महानगरपालिका, वडा नं। २८ तथा स्थानीयहरूको आर्थिक सहयोग रहेको तोरण व्यवस्थापन उपभोक्ता समितिले जानकारी दिएको छ।
करिब ३० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त तोरणमा ९५० तोला चाँदी प्रयोग गरिएको बताइएको छ। समारोहमा अतिथिहरूले धार्मिक सम्पदाको संरक्षणमा स्थानीय तह, प्रदेश सरकार तथा समुदायको सहकार्यले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए।
कार्यक्रममा सहयोगदाताहरूलाई सम्मान समेत गरिएको थियो। उक्त तोरणको स्थापना मन्दिरको सांस्कृतिक महत्त्वलाई अझ सुदृढ बनाउनुका साथै श्रद्धालु र पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।



