यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” गत शनिबार एफक्यूब सिनेमा, केएल टावरमा प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ। प्रिमियर पछि न्युज नेपा: सँग कुराकानी गर्दै निर्देशक संयुक्त श्रेष्ठले आठ वर्ष लगाएर निर्माण गरेको यस चलचित्रमा नेवाः समुदायमा लाखेको इतिहासको महत्त्व दर्शाउन पाउँदा निकै खुसी लागेको बताए ।
उक्त प्रिमियर शोमा प्रमुख अतिथिका रूपमा समाजवादी पार्टीका सह-अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका उप–प्रमुख सुनिता डंगोल, शंखरापुर नगरपालिका उप–प्रमुख समिता श्रेष्ठ र नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यको उपस्थिति थियो।
यस अघि यंत्रकलाले नेपालकै पहिलो एनिमेसन चलचित्र ‘शंखधर’ सार्वजनिक गरेको थियो। नेपालका संस्कृतिविद् स्व सत्य मोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन र निर्देशन भने संयुक्त श्रेष्ठद्वारा गरिएको छ । संयुक्त र नियुक्त श्रेष्ठद्वारा एनिमेटेड यो चलचित्र अञ्जना श्रेष्ठ, लोचन मानन्धर, शैलेन्द्र मानन्धर र समीर महर्जनद्वारा निर्मित हो।
गुठी अष्ट्रेलियाद्वारा प्रस्तुत यस चलचित्रलाई नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्स र ज्यास: फिल्म्स लगायतले पनि सहयोग गरेको जानकारी न्युज नेपा: डट कम लाई निर्देशन संयुक्त श्रेष्ठ दिएका छन्।
नेपालभाषा र नेपाली भाषामा उपलब्ध यस चलचित्रले प्रधानमन्त्री जंगबहादुर राणाको इङ्गल्याण्ड भ्रमणको ऐतिहासिक सन्दर्भ पनि हेर्न सकिने छ। लाखेले आफूमा रहेको दानवीय आचरण त्यागेर साना बालबालिकाको रक्षाको दायित्व लिएको भन्ने धार्मिक आस्था पनि रहि आएको छ।
