शेयर बजार ४४ अङ्कले बढ्याे, काराेबार रकम भने घट्याे

काठमाण्डाै – हिजो उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव २५ अङ्कले बढेर २ हजार ५ सय ४७ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ५ प्रतिशत, होटल समूहको शेयर ३ दशमलव ३५ प्रतिशत तथा जलविद्युत्, लगानी, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज नेपाल माइक्रो इन्सुेन्स, नेपाल रिइन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने सबैभन्दा धेरै ५ दशमलव २६ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज ३ सय ३० वटा कम्पनीका ९९ लाख ४ हजार कित्ता शेयर ४ अर्ब ९७ करोड रुपैयाँमा किनबेच भएको छ ।