प्रतिष्ठित साहित्यकार कथाकार माया ठकुरीको कथाहरु नेपालभाषामा अनुवाद गरी ‘मां, झासँ’ (आमा, आउनुहोस्) नामक पुस्तक प्रकाशन भएको छ । सिर्जना अभियान समाजको आयोजनामा भक्तपुरमा भएको उक्त पुस्तक विमोचन कार्यक्रममा पुस्तकका स्रष्टा माया ठकुरीका साथसाथै कथाकार जलेश्वरी श्रेष्ठ, कवियत्री प्रतिसरा साय्मि र अनुवादक ध्रुव मधिकर्मीले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा साहित्यकार ठकुरीले आफ्ना कथा नेपालभाषाबाट अनुवाद भई प्रकाशन भएको भनेको स्रष्टाको निमित्त गर्वको विषय हो भन्नुभयो । त्यसै गरी कवियत्री प्रतिसरा साय्मिले माया ठकुरीको कथाहरु संवेदनशील, सशक्त र निकै प्रभावकारी भएको कुरा उल्लेख गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि साहित्यकार जलेश्वरी श्रेष्ठले माया ठकुरीसँग आफ्नो लामो साहित्यिक सम्बन्ध रहेको कुरा बताउनु हुँदै स्रष्टा मित्रको कीर्ति विमोचन गर्ने सुअवसर प्राप्त भएकोमा हृदय प्रफुल्लित भएको कुरा बताउनुभयो ।
अनुवादक ध्रुव मधिकर्मीले खस नेपाली भाषामा रहेको सशक्त कथाहरु नेपालभाषामा अनुवाद गर्दा पाठक वर्ग फराकिलो हुँदै जानुका साथै सम्बन्धित भाषाका शब्द भण्डार अर्थात शब्दकोष समेत भरिने कुरा ब्यक्त गर्नुभयो ।
यस पुस्तकमा कूल १५ वटा कथाहरु समावेश भएका छन् भने यस पुस्तकको प्रकाशन सिर्जना अभियान समाजबाट भएको हो ।
