इजरायल, अमेरिका र इरानबीचको युद्धमा जारी युद्ध विरामबीचमा पुन:हवाई तथा क्षेप्यास्त्र आक्रमण सुरु भएका छन्। दुई महिनाअघि लागू भएको युद्धविरामपछि पहिलो पटक इजरायल र इरानले एकअर्काको भूमिलाई निशाना बनाउँदै आक्रमण गरेका हुन्।
इजरायलले इरानका पश्चिमी र मध्य भागमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले आफ्ना आक्रमणहरू पुरै एक सातासम्म निरन्तर जारी रहने भन्दै यसलाई सुरुआत प्रहारको सज्ञा दिएको छ।
इजरायलले भने आइतबार लेबनानको राजधानी बेरुतमा रहेका हिजबुल्लाहका लक्ष्यहरूमा हवाई आक्रमण गरेपछि तनाव थप बढेको थियो। इजरायली सेनाकाअनुसार बेरुतको दक्षिणी क्षेत्रमा गरिएको आक्रमण इजरायलतर्फ हिजबुल्लाहले रकेट प्रहार गरेपछि त्यसको प्रतिकारस्वरूप गरिएको थियो। हिजबुल्लाह इरान समर्थित सशस्त्र समूहका रुपमा मानिन्छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानविरुद्ध थप प्रतिकारात्मक कारबाही नगर्न आग्रह गरेका थिए। ट्रम्पले इरानी आक्रमणबाट कुनै मानवीय क्षति नभएको उल्लेख गर्दै थप सैन्य कारबाही आवश्यक नरहेको बताए।
इजरायली रक्षा बल (आइडीएफ)ले इरानको दक्षिणपश्चिमी सहर माहशहरस्थित एक पेट्रोकेमिकल केन्द्रका विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यम र इजरायली सेनाले उक्त आक्रमणको पुष्टि गरेका छन्। फारसी खाडीको उत्तरी तट नजिक रहेको उक्त औद्योगिक परिसर आंशिक रूपमा क्षतिग्रस्त भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। क्षतिको विस्तृत विवरण र सम्भावित मानवीय क्षतिबारे जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।
इजरायलले मध्य तथा पश्चिमी इरानका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको केही घण्टामै इरानले पुनःइजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानी सञ्चारमाध्यमहरूका अनुसार तेहरान, इस्फान, तब्रिज र नजफाबादमा विस्फोटका आवाज सुनिएको बताएको थिए।
त्यसअघि इरानले उत्तरी इजरायलतर्फ ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरेको थियो, जुन अप्रिलमा भएको युद्धविरामपछि पहिलो यस्तो घटना भएको हो। त्यसपछि पनि जेरुसेलम तथा इजरायलका मध्य र दक्षिणी क्षेत्रमा थप रकेट प्रहार भएको बताइएको छ।
इरानले बेरुतको दक्षिणी क्षेत्रमा भएको इजरायली आक्रमणलाई युद्धविराम उल्लंघनको रूपमा व्याख्या गरेको छ। उक्त आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ। यी आक्रमणहरुले मध्यपूर्वमा क्षेत्रीय द्वन्द्व अझ व्यापक बन्न सक्ने चिन्ता बढाएको छ।
