पेलेदेखि मेस्सीसम्म : विश्वकपका महान क्षण र नयाँ विजेताको खोजी

विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकपले आफ्नो ९६औँ वर्षमा गरेको छ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप प्रतियोगितामा हालसम्म केवल आठ राष्ट्रले मात्र विश्व च्याम्पियन बन्ने अवसर प्राप्त गरेका छन्। करिब एक शताब्दी लामो इतिहासमा दक्षिण अमेरिका र युरोपका राष्ट्रहरूले विश्व फुटबलमा आफ्नो वर्चस्व कायम राखेका छन्।

विश्वकप इतिहासमा सबैभन्दा सफल टोली ब्राजिल हो। ब्राजिलले पाँच पटक विश्वकप उपाधि जितेको छ भने जर्मनी र इटालीले समान चार–चार पटक ट्रफी उचालेका छन्। पछिल्लो विश्वकप विजेता अर्जेन्टिनाले तीन उपाधिसहित चौथो स्थानमा आफूलाई स्थापित गरेको छ।

ब्राजिल विश्वकप इतिहासको एकमात्र टोली हो जसले सबै संस्करणमा सहभागिता जनाएको छ। पेले, जिको, रोमारियो, रोनाल्डो, रोनाल्डिन्होदेखि नेयमारसम्मका विश्वस्तरीय खेलाडी उत्पादन गरेको ब्राजिललाई विश्व फुटबलको पर्याय मानिन्छ। २००२ पछि उपाधिविहीन भए पनि ब्राजिल प्रत्येक विश्वकपमा प्रमुख दाबेदारका रूपमा प्रस्तुत हुँदै आएको छ।

पछिल्ला दुई दशकमा युरोपेली टोलीहरूले विश्व फुटबलमा बलियो पकड बनाएका छन्। फ्रान्स, जर्मनी र स्पेनले हालका विश्वकपहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। सन् २००६, २०१०, २०१४ र २०१८ का लगातार चार विश्वकप युरोपेली राष्ट्रहरूले जितेका थिए।

कतारमा सम्पन्न २०२२ विश्वकप अर्जेन्टिनाका लागि ऐतिहासिक बन्यो। कप्तान लियोनेल मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकप जित्यो। उक्त विजयले मेस्सीलाई फुटबल इतिहासका महानतम खेलाडीमध्ये एकको रूपमा थप स्थापित गर्‍यो। विश्वकपले विश्व खेलकुदलाई अनेक अविस्मरणीय क्षण दिएको छ।

  • १९३० मा उरुग्वे पहिलो विश्व च्याम्पियन बन्यो।
  • १९५८ मा १७ वर्षीय पेलेले विश्वलाई चकित बनाए।
  • १९८६ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई उपाधि दिलाए।
  • १९९८ मा फ्रान्सले घरेलु मैदानमा पहिलो विश्वकप जित्यो।
  • २०१० मा स्पेनले आफ्नो स्वर्णिम युगलाई विश्वकप उपाधिद्वारा पूर्णता दियो।
  • २०२२ मा लियोनेल मेस्सीले आफ्नो करियरको सबैभन्दा ठूलो सपना पूरा गरे।

अब अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने २०२६ फिफा विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ। ४८ राष्ट्रको सहभागिता रहने यस प्रतियोगिताले नयाँ रोमाञ्च थप्ने अपेक्षा गरिएको छ। फिफाले नयाँ ढाँचा अनुसार विश्वकपमा ४८ राष्ट्र सहभागी हुने जनाएको छ। यसअघि ३२ टोली सहभागी हुँदै आएकोमा पहिलो पटक टोली संख्या बढाइएको हो।

प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्। ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा चार टोली रहनेछन्। समूह चरणपछि ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

विश्वकप २०२६ आगामी ११ जुनदेखि १९ जुलाईसम्म सञ्चालन हुनेछ। नयाँ ढाँचासँगै २०२६ को विश्वकपलाई इतिहासकै सबैभन्दा भव्य र प्रतिस्पर्धात्मक संस्करणका रूपमा हेरिएको छ।

हालको अवस्था हेर्दा स्पेन, फ्रान्स, अर्जेन्टिना, ब्राजिल, इङ्ग्ल्यान्ड र जर्मनी प्रमुख दाबेदार मानिएका छन्। स्पेनसँग युवा प्रतिभाले भरिएको टोली छ। फ्रान्ससँग विश्वकै बलियो टोलीमध्ये एक रहेको मानिन्छ। अर्जेन्टिना डिफेन्डिङ च्याम्पियनको हैसियतमा मैदान उत्रिनेछ भने ब्राजिल उपाधिको खोजीमा हुनेछ। इङ्ग्ल्यान्ड र जर्मनी पनि आशावादी देखिएका छन्।

फुटबल विश्लेषकहरूको मूल्याङ्कन अनुसार स्पेन र फ्रान्स हाल सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएका छन्। अर्जेन्टिनासँग विजयी मानसिकता छ भने ब्राजिलसँग सधैंझैँ प्रतिभाको भण्डार छ।

यदि हालको प्रदर्शन र टोलीको गहिराइलाई आधार मान्ने हो भने २०२६ विश्वकपको उपाधि दौडमा स्पेन र फ्रान्स एक कदम अगाडि देखिन्छन्। तर विश्वकप इतिहासले पटक पटक देखाएको छ कागजमा बलियो देखिएको टोलीले मात्र उपाधि जित्दैन, प्रतियोगिताको समयमा उत्कृष्ट प्रदर्शन गर्ने टोली नै अन्ततः विश्व च्याम्पियन बन्छ।