काठमाडौं महानगरपालिका–२३ अन्तर्गत बसन्तपुर पछाडिको ग्वाछेमुग गल्लीमा हिजो रति एक पुरानो घरमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको छ। आगो थप फैलिन नपाउँदै नियन्त्रणमा आएकाले आसपासका थुप्रै पुराना तथा जोडिएका घरमा हुन सक्ने ठूलो धनजनको क्षति टरेको छ।
प्राप्त जानकारीअनुसार वडा नं. २३ ले वितरण गरेको अग्निनियन्त्रक उपकरण प्रयोग गरी स्थानीयबासी तथा महानगर स्थानीय स्काउटका प्रमुख आयुक्त रंजन लाल श्रेष्ठले तत्काल आगो नियन्त्रणमा लिन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रारम्भिक चरणमै आगो नियन्त्रणमा लिइएकाले घटना थप जटिल बन्न पाएन। घटना पछि प्रहरी वृत्त जनसेवाका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापा नेतृत्वको प्रहरी टोली, सुरम नरसिंह मल्ल सहितको शार्दुल जङ्ग गुल्म विपद् उद्धार टोली तथा महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीको समन्वयमा दमकल, एम्बुलेन्स तथा सुरक्षा निकायका टोली तत्काल घटनास्थल पुगेका थिए।
आगो नियन्त्रण अभियानमा नगर प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी वृत्त जनसेवा, जनप्रतिनिधि, स्थानीयबासी विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहेको थियो। समयमै गरिएको सूचना प्रवाह, स्थानीयको सक्रियता तथा सुरक्षा निकायबीचको प्रभावकारी समन्वयका कारण सम्भावित ठूलो दुर्घटना टरेको भन्दै स्थानीयबासीले राहत महसुस गरेका छन्।
