काठमाडौं। पोर्चुगलले विश्वकप खेल्दै गर्दा सबैभन्दा ठूलो चर्चा कप्तान क्रिस्टियानो रोनाल्डो वरिपरि केन्द्रित छ।
४१ वर्षीय सुपरस्टारको यो सम्भवतः अन्तिम विश्वकप हो, र प्रश्न उही छ-के रोनाल्डोको नेतृत्वमा पोर्चुगलले अहिलेसम्म जित्न नसकेको विश्वकप उपाधि जित्न सक्छ ?
सन् २०२२ को विश्वकपमा समेत रोनाल्डो टोलीमा हुँदा पोर्चुगल बलियो हुन्छ कि कमजोर भन्ने बहस चलेको थियो।
चार वर्षपछि पनि ती प्रश्नहरू पूर्ण रूपमा समाप्त भएका छैनन्। तर प्रशिक्षक रोबर्टो मार्टिनेज अन्तर्गत रोनाल्डो छनोट चरणमा महत्वपूर्ण खेलाडी थिए र फिट रहेमा पहिलो रोजाइमा रहने लगभग निश्चित छ।
लगातार सातौं विश्वकप खेल्न लागेको पोर्चुगल प्रतिभाशाली खेलाडीहरूले भरिएको टोली हो। आत्मविश्वासले भरिएको यो टोली उपाधिको वास्तविक दाबेदार मानिन्छ।
डियोगो जोटाको सम्झनामा खेल्ने पोर्चुगल
गत वर्ष सवारी दुर्घटनामा निधन भएका फरवार्ड डियोगो जोटाको अभाव पोर्चुगलले मैदानभित्र र बाहिर दुवैतर्फ महसुस गरिरहेको छ।
मार्टिनेजले जोटालाई “सधैंका लागि प्लस वान” भन्दै श्रद्धाञ्जली दिएका छन्।
उनले भने, “अन्तिम टोली सूचीमा २७ खेलाडी र थप एक जना छन्। डियोगो जोटालाई गुमाउनु अविस्मरणीय र अत्यन्त कठिन क्षण थियो। तर त्यसको भोलिपल्टदेखि उनको सपना पूरा गर्न लड्नु हाम्रो जिम्मेवारी बन्यो। उनको भावना, शक्ति र उदाहरण सधैं हाम्रो साथमा रहनेछ।”
रोनाल्डोको लास्ट डान्स
आज रोनाल्डो पोर्चुगलका सबैभन्दा प्रभावशाली खेलाडी भएका कारणभन्दा पनि उनको विशाल व्यक्तित्वका कारण सबैको नजरमा छन्।
अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता रोनाल्डोले पोर्चुगल तथा अन्तर्राष्ट्रिय फुटबलका लागि १४३ गोल गरेका छन्।
तर उनको फिटनेस र अनुशासनबारे प्रश्न उठिरहेका छन्। मार्चमा ह्यामस्ट्रिङ समस्याका कारण उनले मैत्रीपूर्ण खेलहरू गुमाएका थिए। छनोट चरणमा आयरल्याण्डविरुद्ध रातो कार्ड पाएपछि उनी निलम्बनको जोखिममा पनि परेका थिए।
हालैका ठूला प्रतियोगितामा उनको प्रदर्शन पनि प्रभावशाली रहन सकेको छैन। सन् २०२२ विश्वकपमा उनले केवल एक गोल गरे भने युरो कप २०२४ मा पाँचै खेल खेल्दा गोल गर्न सकेनन्।
तर फिट रहेमा कप्तान रोनाल्डोलाई बेन्चमा राख्नु कठिन छ। उनले अझै एउटा ठूलो कीर्तिमान पछ्याइरहेका छन्। विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक ९ गोलको कीर्तिमानधारी युसेबियो दा सिल्भा फेरेरालाई उछिन्न रोनाल्डोलाई थप दुई गोल आवश्यक छ।
मार्टिनेजले भने, “क्रिस्टियानो रोनाल्डोबारे कुरा गर्दा हामी दुई व्यक्तित्वबारे कुरा गरिरहेका हुन्छौं। एक विश्व फुटबलका प्रतीक र अर्को हाम्रो कप्तान। उनी टोलीभित्र जिम्मेवारी र नेतृत्वको उत्कृष्ट उदाहरण हुन्।”
रोनाल्डोको पछाडि विश्वकै उत्कृष्ट मिडफिल्डमध्ये एक रहेको छ। ब्रुनो फर्नान्डेजले यस सिजन उत्कृष्ट लय समातेका छन्। नम्बर १० भूमिकामा फर्किएपछि उनले प्रिमियर लिगमा २१ असिस्टको कीर्तिमान बनाएका छन्।
उनको साथमा भिटिन्हा, जोआओ नेभेस र बर्नार्डो सिल्भाजस्ता खेलाडी छन्। यी खेलाडीहरूले खेलको गति नियन्त्रण गर्न, बलमा पकड कायम राख्न र बलिया डिफेन्सिभलाई समेत भत्काउन सक्छन्।
विशेषगरी भिटिन्हाले पछिल्ला वर्षहरूमा असाधारण प्रदर्शन गरेका छन्। उनी सन् २०२५ को बालोन डी’ओरमा तेस्रो स्थानमा परेका थिए। २१ वर्षीय जोआओ नेभेस पनि युरोपका सबैभन्दा प्रतिभाशाली युवा मिडफिल्डरमध्ये एकका रूपमा स्थापित हुँदै गएका छन्।
मार्टिनेजमाथि दबाब
पोर्चुगलका समर्थकमध्ये धेरै अझै पनि मार्टिनेजप्रति पूर्ण रूपमा विश्वस्त छैनन्। आवश्यक पर्दा रोनाल्डोविरुद्ध कठोर निर्णय लिन नसक्ने आरोप उनीमाथि लाग्दै आएको छ।
यद्यपि सन् २०२५ को नेशन्स लिग फाइनलमा बलियो टनेली स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जित्नु उनका लागि ठूलो उपलब्धि थियो।
मार्टिनेज भने आफ्नो टोलीलाई प्रतियोगिताको मुख्य दाबेदार मान्न तयार छैनन्।
उनले भने, “विश्वकप पहिले नै जितिसकेको टोलीलाई मात्र वास्तविक फेभरेट भन्न सकिन्छ। हाम्रो टोलीको प्रतिभा र मनोबल हेर्दा हामी सपना देख्न सक्छौं, उपाधिका दाबेदार बन्न सक्छौं, तर फेभरेट होइनौं।”
पोर्चुगल समूह ‘के’ बाट सहज रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।
पहिलो दुई खेलमा उसले विश्वकपमा पहिलोपटक खेलिरहेका डीआर कंगो र उज्वेकिस्तानको सामना गर्नेछ।
समूह चरणको अन्तिम खेल भने कोलम्बियाविरुद्ध हुनेछ, जहाँ समूह विजेताको टुंगो लाग्ने सम्भावना छ। कोलम्बियासँग लुइस डियाज जेम्स रोड्रिगेज र डानियल मुनोजजस्ता अनुभवी तथा प्रतिभाशाली खेलाडी छन्।
पोर्चुगलसँग अनुभव, प्रतिभा र गहिरो टोली छ। तर विश्वकपमा उसको सफलताको सबैभन्दा ठूलो किस्सा भने कप्तान क्रिस्टियानो रोनाल्डोको अन्तिम विश्वकप यात्रासँग जोडिनेछ।
विश्वकपमा पोर्चुगलः
फिफा विश्व वरीयताः ५औँ स्थान
विश्वकप सहभागिताः ८ पटक
सर्वोत्कृष्ट प्रदर्शनः तेस्रो स्थान (सन् १९६६)
पहिलो विश्वकप सहभागिताः सन् १९६६, (इंग्ल्याण्ड)
विश्वकपमा सर्वाधिक गोलकर्ता: युसेबियो दा सिल्भा फेरेरा (९ गोल)
विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी: क्रिस्टियानो रोनाल्डो (२२ खेल)
प्लेयर्स टू वाचः क्रिस्टियानो रोनाल्डो
