महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने तयारी

काठमाडौँ- सांसद् महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि, नियुक्ति र शपथबारे औपचारिक घोषणा भने भएको छैन।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्।

स्वतन्त्र सांसद् रहेका उनी यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका थिए।

यता, सम्पत्ति विवरणबारे प्रश्न उठेपछि राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह(बालेनले)ले उनलाई आज गृहमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ।

स्रोतकाअनुसार गुरुङलाई आजै अपराह्न ३ बजे शपथ गराउने तयारी भइरहेको छ।