अमेरिकाले इरानमा आक्रमण रोकेसँगै तेलको भाउ ५ प्रतिशतभन्दा धेरैले घट्याे

अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अत्यधिक घटेको छ । फेरि वार्ता अघि बढ्ने र हर्मुज जलमार्ग खुल्ने आशासँगै तेलको भाउ घटेको हो ।

आज ब्रेन्ट क्रुड तेलको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेर प्रतिब्यारेल ९१ डलर आसपास आइपुगेको छ । तेलको मूल्य घटेसँगै मुद्रास्फीति पुनः बढ्ने तथा ब्याजदरमा थप वृद्धि हुने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ ।

यसले धेरैजसो एशियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । यद्यपि कृत्रिम बौद्धिकता अर्थात् ‘एआई’ क्षेत्रमा भइरहेको तीव्र वृद्धि दिगो हुने–नहुने तथा त्यस क्षेत्रमा भइरहेको ठूलो लगानीको प्रतिफलबारे लगानीकर्ताको चिन्ता कायमै छ । प्रविधि कम्पनीका शेयरमा यसको प्रभाव धेरै देखिएको छ ।

इरानमा १३ दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कारबाही रोकेको थियो । यसको प्रतिक्रियामा इरानले पनि क्षेत्रीय देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ । घटनाक्रमले खाडी क्षेत्रमा पानीजहाजको आवतजावत तथा तेल उद्योगलाई केही राहत दिएको छ ।

इरानले ‘स्ट्रेट अफ हर्मुज’ को ओमानी जलक्षेत्र हुँदै जाने पानीजहाजमाथि आक्रमण गरेपछि तनाव थप चर्किएको थियो । त्यसपछि कमजोर युद्धविराम भङ्ग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि शुरू भएको थियो ।

तनावका कारण अमेरिका र इरानबीचको कूटनीतिक प्रयास प्रभावित भएको थियो । द्वन्द्व ‘स्टे«ट अफ हर्मुज’ भन्दा बाहिरसमेत फैलिँदा इरान समर्थित हुथी विद्रोहीले लाल सागर प्रवेश गर्ने प्रमुख मार्ग बाब अल–मन्देब जलक्षेत्रमा साउदी पानीजहाजमाथि आक्रमण गरेका थिए ।

तनाव चर्किएसँगै कच्चा तेलको मूल्य तीव्ररूपमा बढेको थियो । गएको हप्ता कच्चा तेलको मूल्य मे महिनायताकै पहिलो पटक प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।

यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एक प्रतिवेदनमा उल्लेख छ ।