काठमाडौँ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा २३औँ संयुक्त गुरुपूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा आगामी २३औँ राष्ट्रिय ज्यापु दिवस आयोजना तथा संयोजनको जिम्मेवारी ग्वल (पशुपति) त्वाः लाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सो अवसरमा काठमाडौँका ६३ ज्यापु त्वाः गुथिका गुरु तथा नायःहरूलाई सम्मानसमेत गरिएको थियो।
२२औँ राष्ट्रिय ज्यापु दिवसका संयोजक एवं नरः कोता त्वाःका अध्यक्ष कृष्णबहादुर महर्जनले काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं ग्वल त्वाःका अध्यक्ष आशामान संगतलाई संयोजनको जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयोजक संगतलाई फूलमाला पहिराउनुभएको थियो भने विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले ज्यापु दिवस आयोजनाका लागि दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संस्कार, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने गुरुहरू समाजका वास्तविक सम्मानयोग्य व्यक्तित्व भएको बताउनुभयो। उहाँले बदलिँदो समयअनुसार संस्कृति जोगाउने व्यक्तिको आर्थिक अवस्था कमजोर हुन नदिन महानगरले गुरुहरूलाई दिँदै आएको गुरुभत्ता दोब्बर गरी ५० हजार रुपैयाँ पुर्याएको जानकारी दिनुभयो। यस सहयोगलाई खर्चभन्दा पनि दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्ने उहाँको भनाइ थियो।
यसैगरी, ग्वल त्वाःका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगतले महानगरले गरेको आर्थिक सहयोगको प्रशंसा गर्दै संस्कृति संरक्षणको मुख्य आधार भने समुदायको प्रतिबद्धता र जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले सम्मानित ९६ वर्षीय गुरु भाइराजा महर्जन अझै पनि युवापुस्तालाई ‘कान्ता दबदब’ जस्ता परम्परागत बाजा प्रशिक्षणमा सक्रिय रहेको भन्दै उहाँलाई प्रेरणादायी उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। साथै, ज्यापु महागुथि नेपाःले सांस्कृतिक रूपमा समुदायलाई जोडेझैँ सामाजिक र राजनीतिक रूपमा पनि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
ज्यापु महागुथि नेपाःका अध्यक्ष सत्यनारायण डंगोलले ग्वल त्वाःलाई सफल संयोजनको शुभकामना दिँदै वर्षभरि सञ्चालन हुने जात्रा, पर्व तथा सांस्कृतिक गतिविधिहरूको व्यापक प्रचार-प्रसार गर्न आग्रह गर्नुभयो। कोषको आफ्नै भवन र पूर्वाधार तयार भइसकेकाले अब दैनिक कार्यालय सञ्चालन गरी गतिविधिहरू थप प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा थियो।

विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले स्वागत मन्तव्य दिँदै संस्थापक अध्यक्ष स्व. चक्रमान डंगोलको अवधारणाअनुसार नै ६३ त्वाः गुथिका गुरुहरूलाई सम्मान गर्ने परम्परा सुरु भएको र स्व. तीर्थराम डंगोलको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो। काठमाडौँ महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यको कार्यकालदेखि गुरुभत्ता दिन सुरु गरिएको जानकारी पनि उहाँले दिनुभयो।
कार्यक्रमका सभापति तथा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले २४ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको गुरुपूजाले नेपालको मौलिक संस्कृतिलाई जीवन्त राख्न मद्दत पुर्याएको बताउनुभयो। राम्रोसँग पुस्तान्तरण भएका संस्कारले नै राम्रो समाजको निर्माण गर्ने बताउँदै उहाँले आगामी दिनमा महानगर दिवसका अवसरमा दिइने अनुदान र गुरुभत्तामा अझ वृद्धि गरिने जानकारी दिनुभयो।
