अन्तर्राष्ट्रय मातृभाषा पत्रकारिता सम्मेलन जेठ १९ र २० हुने

नेवाः पत्रकार राष्ट्रिय दबूले यही जेठ १९ र २० गते दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा नेपालका साथै विभिन्न भाषाभाषी पत्रकारहरु भारत, बङगलादेश, पाकिस्तान, जापान, श्रीलङ्का लगायतका देशका पत्रकारको सहभागिता हुने भएको छ।

दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन जेठ १९ गते शनिबार स्टाफ कलेज ललितपुरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नहुनेछ भने दोश्रो दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा थिमिमा समापन समारोह हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

१०० वर्षअघि नेपालभाषा पत्रिका “बुद्ध धर्म व नेपालभाषा” सम्पादन एवं प्रकाशन गर्नुभएका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य १२२ औं जन्मजयन्ती, ९ औं मातृभाषा पत्रकारिता दिवस तथा नेपालमा पहिलो मातृभाषा नेपालभाषाबाट प्रकाशित “बुद्धधर्म व नेपालभाषा” प्रकाशित भएको १०० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनका साथै बर्ष भरी विभिन्न कार्यक्रम आयोजना हुने पनि आयोजकले जनाएको छ ।

सम्मेलनका लागि सार्क जर्नालिष्ट फोरमले विभिन्न देशका प्रतिनिधि पत्रकारहरुको संयोजनमा सहयोग गरेको छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघले देशभित्रका विभिन्न मातृभाषी पत्रकारहरुको सहभागिताका लागि संयोजन सहयोग गरेका छ ।