भक्तपुर – काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजमा फेरी एक पटक संजय शर्मा राजोपाध्याय अध्यक्षमा चयन हुनु भएको छ । गएको शनिबार भक्तपुरमा भएको समाजको चौथो अधिवेशनले नृत्य कलाकार एवमं नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष चयन भएको घोषणा भएसँगै राजोपाध्यायले आधुनिक विज्ञान र प्रविधिसँगै जोडेर समाजको धर्म, संस्कृति, परम्परालाई युवा पुस्तालाई हस्तान्तरण गर्न आफु अघि बढ्ने बताउँदै व्यक्तिगत वा पारिवारिक भावना भन्दा समाजलाई प्राथमिकतामा राखेर सबै एकजुट हुँदै समाजको उत्थानमा लाग्न आग्रह गर्नु भयो। उहाँले अर्को दुई वर्षकोे लागि समाजको नेतृत्व गर्नेु हुनेछ ।
अधिवेशनबाट निर्विरोध निर्वाचित भएको १३ सदस्यीय कार्य समितिका दुई उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय र संचारकर्मी बिराजकाजी राजोपाध्याय, महासचिवमा बन्दना शर्मा राजोपाध्याय, सचिवमा बिजय शर्मा राजोपाध्याय चयन हुनु भएको छ। त्यत्सै कोषाध्यक्ष र सह कोषाध्यक्षमा उद्धव आचार्य राजोपाध्याय र चेतनादेवी शर्मा राजोपाध्याय सहित सदस्यमा बिरु सुवेदी राजोपाध्याय, किशोर शर्मा राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, त्रिलोचन राजोपाध्याय, श्रीमणिराज शर्मा राजोपाध्याय र गिरिश शर्मा राजोपाध्याय चयन हुनुभएका छन् । दुई जना सदस्य भने कार्य समितिबाट मनोनित गरिने बताइएको छ ।
यस अघि भएको अधिवेशनको उद्घाटन सत्रमा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगिब बनेपाली, यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकार, ज्योतिषाचार्य बीरेन्द्र प्रसाद कायस्थलगायतले नेवाः समाजमा सनातन धर्म, संस्कृतिको संरक्षण, सम्वद्र्धनमा राजोपाध्याय समाजको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनु भएको थियो । त्यस्तै समाजका निवर्तमान अध्यक्ष अमरराज शर्मा राजोपाध्याय र संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय, उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले व्यक्तिगत भावना र विचारभन्दा समाजलाई प्राथमिकतामा राखेर समग्र समाजकै उत्थानमा अघि बढ्न आग्रह गर्नु भयो । व्याकरणाचार्य गजानन्दधर राजोपाध्यायले धर्म, संस्कृतिलाई राम्ररी बुझ्नका साथै यसको संरक्षणमा लाग्न संस्कृत सिक्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा समाजले २०७८ श्रावणदेखि २०७९ असारसम्म उपत्यकाको तीनै शहर काठमाडौं, भक्तपुर र ललितपुरका शिवालयहरुमा आयोजना गरेको पञ्चाभिषेक रुद्री, २०७९ श्रावण महिनामा काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेवमा आयोजना गरेको अयुताहुती यज्ञ, २०७८ र २०७९ सालका एसईई उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै समाजले आयोजना गरेको गायन प्रतियोगीता ‘गायन प्रतिभाको खोजी’ का विजेताहरुलाई पुरस्कृत गरिएको थियो भने समाजको जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजना भएको तीन महिने संस्कृत प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रममा समाजबाट प्रकाशित साथै विभिन्न पुस्तकहरुको प्रदर्शनी र विक्रि समेत गरिएको थियो ।
