अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरूका लागि लक्षित गरेर नेपालभाषा ग्रीष्मकालीन शिविर आयोजना हुँदैछ। आउँदो जुन २२ देखि अगस्ट २४ सम्म हुने शिविरको उदेश्य बालबालिकाहरूलाई आफ्नो मातृभाषा र संस्कृतिबारे जानकारी दिन र उनीहरूलाई नेपालभाषामा दक्ष बनाउने रहेको छ।
भर्चुअल माध्यमबाट सञ्चालन हुने शिविरमा बालबालिकाहरूलाई लेखन, पठन, संवादका साथै सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता गराइनेछ। प्रशिक्षकका रूपमा मिस नेवा नीतु डंगोलले कक्षाहरू सञ्चालन गर्नेछिन्। यसै क्रममा, आउँदो शनिबार नेपालभाषा भर्चुअल ओपन हाउस समारोह काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलको प्रमुख आतिथ्यमा आयोजना गरिने भएको छ।
कार्यक्रममा भाषा र संस्कृतिका विशिष्ट विज्ञहरू डा. डेविड ग्लेनर, डा. चुन्डा बज्राचार्य, डा. सुभाष राम प्रजापति, लोककवि राजभाई जकमी, जगतसुन्दर ब्वनेकुथिका प्रधानाध्यापक सुनीता मानन्धर र निष्ठा ताम्राकारको पनि उपस्थित रहनेछ। शिविरको लागि नाम दर्ता खुलिसकेको र इच्छुक अभिभावकहरूले आयोजक संस्थाको वेबसाइटमार्फत आफ्ना बालबालिकाहरूको नाम दर्ता गर्न सक्ने शिविर आयोजक ल्यायम्ह अमेरिका गुठीका अध्यक्ष पुष्कर प्रजापतिले बताउनु भयो।
