युरो कपको क्वार्टरफाइनलमा आज आयोजक जर्मनी र स्पेनको महाभिडन्त

जर्मनीमा जारी युरो कप फुटबलको पहिलो क्वार्टफाइनल खेलमा आज शुक्रबार आयोजक जर्मनी र स्पेन भिड्दैछन् । उपाधिका दुई मुख्य दाबेदार टिम तथा यस युरो कपमा सबैभन्दा उत्कृष्ट लयमा रहेका यी दुई टिम सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । धेरैले फाइनलमा भेट हुन सक्ने भनेर अनुमान गरेका दुई टिम अन्तिम आठमै भिड्ने भएपछि एक टिमको यात्रा चाँडै सकिने पक्का छ भने एक टिम सेमिफाइनल प्रवेश गर्नेछ । अन्तिम आठमा हुने खेल मध्ये सबैभन्दा ठूलो र आकर्षक खेलमा स्पेन भर्सेस जर्मनीकै हुनेछ ।

अन्तिम १६ को खेलमा स्पेनले जर्जियामाथि ४–१ को फराकिलो जित निकालेको थियो भने आयोजक जर्मनीले डेनमार्कमाथि २–० को जित निकाल्दै अन्तिम आठमा एकअर्काको भेट पक्का गरेका थिए । यस युरोमा स्पेन र जर्मनी दुवै सबैभन्दा उत्कृष्ट लयमा खेल्दै क्वार्टरफाइनलसम्म पुगेका छन् । दुवै शीर्ष टिम भएकाले पनि यो खेलमा निकै रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ छ । फिफा वरीयतामा स्पेन आठौं र जर्मनी १६औं स्थानमा रहेको छ ।