शेयर बजारमा छायो उत्साह : नाघ्यो २३ सय अंक, २६ महिनाकै उच्च

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ७०.१८ अंकले बढेको छ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अर्थ मन्त्रालयको बागडोर सम्हाल्नु भएको भोलिपल्ट नेप्से परिसूचक एकैदिन ७०.१८ अंकले बढ्दै बजारमा उत्साह छाएको हो ।

पौडेलले सोमवार कार्यभार सम्हाल्नु भएको हो । पौडेल अर्थमा आएको भोलिपल्ट मंगलवार यस दिन २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच हुँदै ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।

कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । इङवा हाइड्रोपावरको मूल्य ९.७, अपी पावरको ९.६ प्रतिशत मूल्य बढ्यो ।

यस्तैयस दिन मूल्य घट्नेमा धेरैजसो ऋणपत्र रहे । लगानीकर्तामा ऋणपत्र बेचेर सेयरमा लगानी गर्ने चाहना बढ्दा धेरै ऋणपत्रको मूल्य घट्न पुग्यो । एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घट्यो । माण्डु हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, जानाकी फाइनान्स र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

सेयर बजारमा उत्साह छाएको आजको दिन नेप्से २ हजार ३१०.५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । तर, आज नै तीन वटा कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ । नेप्सेले जनाएअनुसार आज म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु बढेका छन ।