काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा लागेको आगो निभाइएको छ ।
दुर्घटनामा १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेनको सकुशल उद्धार गरिएको छ ।

दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले दिनुभएको जानकारीअनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए ।
जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको पनि उहाँले बताउनुभयो । शाक्यको टाउकोमा चोट लागेको छ ।
दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाकाे ज्यान गएकाे र चार जनाकाे उद्धार गरिएकाे जनाएकाे छ ।

