काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुंलापर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
गुंला धर्म नेपाल सम्बतको गुंला महिनाभरि चल्ने एक प्राचीन पर्व हो। नेपाल सम्वतको १० औं महिना गुंलापर्वको गुंलापर्वथ्व पारु देखि ११ औं महिना यँलाको यँलाथ्व पारु सम्म चल्ने यस पर्वलाई नेवा: समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्व दिएको पाइन्छ। विक्रम सम्वत अनुसार हेर्ने हो भने यो पर्व श्रावण शुक्ल प्रतिपदाको दिनबाट सुरु भइ भाद्र शुक्ल प्रतिपदाको दिन समापन हुने गर्दछ। यस गुंला महिनाभरि विभिन्न बहाल, बहिल, चोक, विहार तथा चैत्यस्थानको दर्शन गर्ने, विभिन्न पाठ गर्ने, वाद्यवादन बजाउने , दानधर्म आदि गरिने भएकोले यस पर्वलाई गुंला धर्म भनिएको मानिन्छ।
नेपाल भाषामा ‘गुं’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुंलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । बौद्ध धर्मावलम्बीहरु बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेका थिए । काठमाडौंका स्थानीयवासी स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न पुगेका थिए ।
पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।
ललितपुरका स्थानीयवासी भने पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्न पुगेका थिए । यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ ।
धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।
