पशुपति क्षेत्रको महास्नानघर प्रगोग नै नभई भासियो

काठमाण्डौ – पशुपतिनाथ मन्दिर क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको झण्डै एक वर्षपछि भासिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार गरेपछि महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो हप्ता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो ।

सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेका थिए । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट सारिएको छ ।

महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुनसक्ने अनुमान गरिएको कोषका इन्जिनियर रिका जोशीले बताउनुभयो । राणाकालमा बनेको चौघेरा सत्तल कोषले नै जीर्णोद्वार गरी योजना महाशाखा पनि झण्डै ६ महिना सञ्चालन गरिएको उहाँको भनाई छ ।