सडक र पुल निर्माणमा २५ अर्ब लाग्ने,बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक र वीपी राजमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले काठमाडौंलाई जोड्ने दुईवटा सडक महत्वपूर्ण भएको भन्दै यसलाई प्राथमिकता दिएर नै अगाडि बढेको बताए । नागढुङ्गा–मुग्लिङ सडक जुन छ त्यो पूर्वपश्चिम जोड्ने प्रमुख सडक भएको हुनाले त्यसलाई अलि बढि प्राथमिकता दिएका छौं उनले भने । यो सबै निर्मण गर्न २५ अर्ब लाग्ने अनुमान गरिएको छ।

अझैसम्म पाँचवटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी रहेको र यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै हयुम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको पनि उनको भनाइ छ ।

यातायात सुचारु गर्न अझै बाँकी रहेका मुख्य राजमार्ग खण्डहरुमा अरनिको राजमार्गको लार्चा कोदारी पाँच किमि, बिपी राजमार्ग चौकीडाँडा कालढुंगा १८ किमि, पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट राकथुम ८० किमि, कान्ति राजपथ घपेली–बगुवा १३ किमि र मेघी राजमार्ग रमिते फिदिम ८ किमि रहेको छ ।

यस बीच मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यस्तै मुग्लिन–पोखरा, नारायणगढ–बुटवललगायतका मुख्य सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । बीपी राजमार्गको काभ्रे खण्डमा भने गाडी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गकाे चौकीडाँडा–कालढुङ्गा १८ किलोमिटरमध्ये झन्डै १२ किलोमिटर सडक पूर्णरूपमा बगेका कारण केही ठाउँमा गाडी रोकिएका छन् । रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायी रूपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।