नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ मानव अधिकारकर्मी स्व.पद्मरत्न तुलाधरको योगदानको सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले छैठौं स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
मानव अधिकार, शान्ति र मातृभाषा अधिकार अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिले आज शंखधर साख्वा स्मृति पार्क, (रत्नपार्क)मा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जलि व्यक्त गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले स्मृति ग्रन्थ र पाठ्यक्रमहरुमा पद्मरत्न तुलाधरको योगदानलाई समेट्नका लागि सरकार र नागरिक समाजबाट पहल गर्नुपर्नेमा जोड दिए । तुलाधरकी छोरी सुम्निमा तुलाधरले आफ्ना बुबाले देशका सबैजसो आन्दोलनमा सहभागिता जनाई परिवारलाई मात्र होइन समग्र आन्दोलनकारीहरूलाई नै गौरवान्वित बनाउनुभएको बताउनुभयो ।

कार्यक्रममा जनकबि दुर्गालाल लाई पद्मरत्न मानव अधिकार तथा शान्ति सम्मान सहित नगद रु. ५०,०००/- पुरस्कार प्रदान गरिएको थियो। वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरले २०४६ सालमा नेपाली कांग्रेस र तत्कालीन वामपन्थी पार्टीहरूलाई एकै ठाउँ राखी निरंकुश पञ्चायती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलन गर्न ठूलो योगदान दिनुभएको थियो ।

त्यस्तै माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वका बेला सरकार र विद्रोही माओवादी बीच शान्ति वार्ता गराउन पनि उहाँले सहजकर्ताको भूमिका निभाउनुभएको थियो । आजको स्मृति सभाको सह-अध्यक्षता आयोजक संस्थाका अध्यक्ष द्वय गौरी प्रधान तथा केशब मान शाक्यले गर्नु भएको थियो ।

सो सभामा पूर्व मन्त्री तथा सांसद कृष्ण गोपाल श्रेष्ठ, पूर्व मन्त्री तथा ११४५ न्हु दँ भिंतुना आयोजक समितिका संयोजक राजेन्द्र श्रेष्ठ, काठमाडौ महानगर पालिकाकी उप-प्रमुख सुनिता डंगोल, पूर्व मेयर बिद्या सुन्दर शाक्य, नागरिक समाजका अगुवा डा. भरत प्रधान, श्याम श्रेष्ठ, परशुराम तामाङ, स्ट्रेला तामाङ, मल्ल के. सुन्दर लगायत प्रोफेसर, डाक्टर, इन्जिनीयर, वकिल, मेडिया कर्मीहरु, व्यवसायी तथा पद्मरत्न तुलाधरका परिवार तथा शुभ-चिन्तकहरुले सहभागिता जनाउनु भएको थियो ।
