कीर्तिपुर सिनेप्लेक्स हलमा ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ आयोजना हुने

‘नेवार संस्कृति नेवार स्वाद, हेरौं हाम्रो नेवार चलचित्र’ भन्ने नारा घन्काएर नेवार खानपिन र नेवार चलचित्रको प्रवर्द्धन तथा प्रचार प्रसार र नेवार चलचित्रप्रति दर्शकहरुको अभिरुचि बढाउनका लागि कीर्तिपुरको ८ वडा पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ आयोजना हुन लागेको छ ।

नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स र कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा हुने ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ कहिले हुने भन्ने प्रश्नको जवाफमा आयोजक नेपाल कला संस्कृति उत्थान समाजका अध्यक्ष विजयलाल डंगोलले दिन निश्चित भईनसकेको र चाँडै नै अर्थात यही २०८१ सालको चैत्र महिनाभित्र आयोजना गरिने जानकारी दिनुभयो ।

अध्यक्ष डंगोलले उक्त ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’का निमित्त विभिन्न नेवाः खानपिनका स्टल, स्थानीयबाट उत्पादित विविध सामाग्रीका स्टलका साथै संगीतमय वातावरण सहित विभिन्न नेवार चलचित्र प्रदर्शन गरिने जानकारी दिनुभएको छ भने वहाँले स्टन राख्न इच्छुक ब्यक्तिहरुले सम्पर्क राख्नु हुन समेत अनुरोध गर्नुभएको छ ।

त्यसैगरी, आयोजक कीर्तिपुर सिनेप्लेक्सका प्रमुख नरेन्द्र महर्जनले ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ कार्यक्रममा विविध नेवार चलचित्र प्रदर्शन गरिने जानकारी दिनुहुँदै नेवाः चलचित्र समावेश गराउनका निमित्त चलचित्र विकास बोर्डमा दर्ता भएको नेवार चलचित्र उपलब्ध गराइ दिनुहुन सम्पूर्ण चलचित्रकर्मीहरुलाई अनुरोध गर्नुभएको छ । यसै अवसरमा आयोजक कीर्तिपुर मिडिया हाउसका प्रवन्धक प्रताप महर्जनले उक्त ‘नेवाः नसात्वँसा नेवाः संकिपा नखः’ कार्यक्रममा सम्पूर्ण सञ्चारकर्मीहरु सहित सम्पूर्ण महानुभावहरुलाई उपस्थित हुन अनुरोध गर्नुभयो ।