यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् । बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् ।
सोमबारदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् । कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन् भने काठमाडौं उपत्यकामा न्यून मात्रामा साझा यातायातले सेवा दिए पनि कोचाकोच यात्रु राख्न बाध्य भएको देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको देखिएको र फाट्टफुट्ट चलिरहेको बताए । उनले चालकहरुको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको बताए ।
मयुर यातायात, थानकोट जाने फोर्स गाडी र केही भाडाका ट्याक्सीहरु चलेका छन्। यसैगरी साझा यातायातका बसहरु पनि चलिरहेका छन्।
