प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले नेपालजस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गरे।
उनले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भूमिका खेलेको बताए।
उनले भने, ‘यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामीजस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेका छौँ। एक ढंगले नेतृत्वदायी भूमिकासमेत खेलेका छौँ।’
प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्ने कुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको बताए।
