नेवा: राष्ट्रिय परिषदले लगायो बिमला महर्जनको जग्गामा तारबार

काठमाडौं । धादिङको धार्के सडकमा नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयवासीले तारबार लगाएका छन् । धार्के, साविक केबलपुर धुनिबासी नगरपालिका–५, ९ ग कित्ता नं. १२० मा नेपाल सरकारको सडक विभागले जग्गाधनी बिमला महर्जनको निजी जग्गामा बिना सहमति र मापदण्ड विपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैरकानुनी रूपमा पिच गरेको पाइएको छ ।

नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीका अनुसार धुनिबेसी नगरपालिका–५ मा पर्ने बिमला महर्जनको ३ रोपनी १५ आना २ पैसा जग्गामा मापदण्ड विपरीत पिच गरिएकाले उनलाई न्याय दिन तारबार लगाइएको हो ।

सायमीले भने, ‘बिमला महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन सडकमै तारबार लगाइएको छ ।’

पीडितलाई न्यायदिनका लागि परिषद्का संयोजक सुमन सायमी, हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, बिकास बाबू श्रेष्ठ, बिकास घिमिरे, बेबि राजभण्डारीलगायतका नेताहरुको उपस्थितिमा सडकमा तारबार लगाइएको हो ।