बलिउडका चर्चित अभिनेता सतिश शाहको निधन

भारतीय सिनेमा जगतका वरिष्ठ अभिनेता तथा निर्देशक सतिश शाहको शनिबार ७४ वर्षको उमेरमा निधन भएको छ। एनडिटिभीका औसर मुम्बईको हिन्दुजा अस्पतालमा उपचाररत उनको मिर्गौला खराबका कारण दुःखद निधन भएको हो। उनि पछिल्लो समय मिर्गौलाको रोगसँग जुधिरहका थिए ।

चर्चित कलाकार सतिश शाहको जन्म सन् १९५१ जुन २५ मा गुजरातको कच्छ जिल्लामा भएको थियो। चलचित्रको मोहले नै उनलाई मुम्बईसम्म डोर्‍यायो। उनले सन् १९७८ को चलचित्र ‘अजीब दास्तां’ बाट आफ्नो अभिनय यात्रा सुरु गरे पनि, सन् १९८३ को चर्चित चलचित्र ‘जाने भी दो यारो’ बाट उनले आफ्नो ठूलो पहिचान बनाए ।

उनका अन्य लोकप्रिय चलचित्रहरूमा ‘कल हो न हो’, ‘मै हुँ ना’, ‘फना’ र ‘ओम शान्ति ओम’ लगायत रहेका छन् । उनका भारतीय दूरदर्शनका धारावाहिक शृंखलामा उनको भूमिका अझ स्मरणीय छ। विशेषगर ‘ये जो है जिन्दगी’ सिटकममा ५५ भागमा ५५ फरक-फरक पात्र खेल्ने उनको क्षमता अद्भुत थियो। साथै, ‘साराभाई भर्सेस साराभाई’ मा उनले निभाएको ‘इन्द्रवदन साराभाई’ को भूमिका अत्यधिक लोकप्रिय छ।

भारतको एफटिआइआईबाट अध्ययन गरेका शाहले आफ्नो जीवन कालमा २५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । यसअघि सन् २०२० मा उनि कोरोना संक्रमित भए पनि पूर्ण रूपमा निको भएका थिए ।