पशुपति क्षेत्रबाट सडक मानवको उद्धार: महानगरको एक्सन, होल्डिङ सेन्टरमै ‘चेकजाँच’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रलाई सडक मानवमुक्त बनाउने अभियानमा आक्रामक कदम चालेको छ।

महानगर, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २३ गतेदेखि तिलगंगामा विशेष होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।

पहिलो दिनकै अभियानमा ३६ जनालाई उद्धार गरिएको भए पनि सुरक्षा र व्यवस्थापनमा चुनौती देखिएको छ।

सेन्टरमा पुर्‍याइएकामध्ये ६ जना पर्खाल नाघेर भाग्नुले सडकमा बस्न पल्किएकाहरूलाई प्रणालीमा ल्याउन कति कठिन छ भन्ने प्रस्ट पारेको छ।

हाल सेन्टरमा २८ जनालाई राखेर उनीहरूको वास्तविक अवस्था पहिचान गर्ने कार्य भइरहेको छ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबार आफैँ सेन्टर पुगेर त्यहाँको व्यवस्थापन र पूर्वाधारको निरीक्षण गरेकी छिन्।

उनले काम गर्न सक्नेहरूलाई श्रम बजारमा जोड्ने र असहायहरूको मात्रै महानगरले जिम्मेवारी लिने चेतावनीपूर्ण सन्देश दिएकी छिन्।

सहरलाई सहयोगापेक्षीमुक्त बनाउने नाममा झारा टार्ने काम मात्र नभई, वास्तविक असहायको पहिचान गरी उनीहरूलाई मानवोचित बसोबास दिने महानगरको लक्ष्य रहेको डंगोलको भनाइ छ।

उद्धार गरिएकामध्ये ४ जनामा गम्भीर मानसिक समस्या देखिएको छ भने एक वृद्ध कुकुरको टोकाइबाट घाइते अवस्थामा भेटिएका छन्।

उद्धार गरिएकाहरूमा ७८ वर्षका वृद्धदेखि २५ वर्षका युवासम्म रहेका छन्। सोलुखुम्बुदेखि सुर्खेतसम्मका विभिन्न जिल्लाबाट आएर सडकमा आश्रय लिइरहेका उनीहरूलाई अब कानुनी र मानवीय आधारमा वर्गीकरण गरिनेछ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पूर्वाधारलाई थप सुरक्षित बनाउने प्रतिबद्धता जनाए पनि ६ जनाको पलायनले सेन्टरको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ।