दक्षिण भारतीय राजनीतिका ‘थलापति’ जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएसँगै राज्यमा ६ दशकदेखि कायम डिएमके र एआइएडिएमकेको आलोपालो वर्चस्व सदाका लागि अन्त्य भएको छ।
चेन्नईको नेहरू स्टेडियममा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले विजयलाई पद तथा गोपनीयताको शपथ गराए। २३४ सदस्यीय विधानसभामा १२० विधायकको बलियो समर्थन जुटाएर सत्तामा पुगेका विजयले अब कांग्रेससहितको गठबन्धन सरकारको नेतृत्व गर्नेछन्।
यो विजय केवल एक अभिनेताको राजनीतिक सफलता मात्र नभई, तमिलनाडुका स्थापित शक्तिहरू विरुद्धको जनआक्रोशको प्रतिफल मानिएको छ।
फेब्रुअरी २०२४ मा मात्र स्थापना भएको तमिलगा वेत्री कड़गम (टिभीके) ले आफ्नो पहिलो चुनावी मैदानमै १०८ सिटको शानदार नतिजा निकाल्दै इतिहास रचेको हो। विजयको मन्त्रिपरिषद्मा अनुभवी नेता केए सेंगोट्टैयनदेखि युवा अनुहारहरूसम्म गरी नौ जना मन्त्रीहरूले शपथ लिएका छन्।
नवगठित सरकारलाई मे १३ भित्र विधानसभामा विश्वासको मत लिन निर्देशन दिइएको छ।
“एउटा परिवारले राज्य लुटेको” र “द्रविड मोडलका नाममा धोखाधडी भएको” कडा आरोप लगाउँदै राजनीतिमा होमिएका विजयको उदयले तमिलनाडुको राजनीतिक नक्सा नै परिवर्तन गरिदिएको छ।
पेरियार, अम्बेडकर र कामराज जस्ता आदर्शलाई शिरोधार्य गर्दै विजयले अब ‘सेकुलर’ र ‘भ्रष्टाचारमुक्त’ शासनको कडा चुनौती सामना गर्नुपर्नेछ।
