रेकर्डमाथि रेकर्ड बनाउँदै गरेको सुनको मूल्यमा ब्रेक, चाँदी पनि सस्तियो

काठमाडौँ, ६ जेठ । नेपाली बजारमा निरन्तर नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्यमा बुधबार ठुलो ‘क्र्यास’ (गिरावट) आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको ताजा विवरण अनुसार आज सुनको मूल्यमा प्रतितोला ३ हजार ३ सय रुपैयाँको ठुलो गिरावट आएको हो, जसले बजारमा एकाएक खैलाबैला मच्चाएको छ ।

नयाँ मूल्यसूची अनुसार महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य हिजोको तुलनामा निकै कम हो ।

हिजो मंगलबार मात्रै सुनको भाउ ५ सय रुपैयाँले महँगो बन्दै प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँको ऐतिहासिक उचाइमा पुगेर कारोबार भएको थियो ।

सुनको मूल्य मात्र होइन, आज चाँदीको बजार पनि नराम्ररी प्रभावित भएको छ । मंगलबार नेपाली इतिहासकै उच्च मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार १२५ रुपैयाँले सस्तिएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ कायम गरेको छ ।

विश्वव्यापी आर्थिक मन्दीको सङ्केत र अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मागमा आएको ह्रासका कारण सुनको मूल्य ओरालो लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ४७९ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेकाले त्यसको सोझो असर नेपाली बजारमा महसुस गरिएको हो ।