बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन – भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो २ बजेतिरमा निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो।

घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन १७:४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए।

जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गर्ने क्रममा बुधबार बिहान १०:५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो।

शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।