काठमाडौँ गोकर्णेश्वरमा बर्ड फ्लु देखियो, नियन्त्रण अभियान तीव्र

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा पोल्ट्री व्यवसायीलाई आग्रह गरेको छ।

नगरपालिकाका अनुसार ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) देखिएपछि नियन्त्रण तथा रोकथामका लागि प्रभावित क्षेत्रमा कुखुरा, हाँस, टर्की, बट्टाईलगायत पन्छी तथा तिनका अण्डा र दाना नष्ट गर्ने कार्य तीव्र पारिएको छ।

संक्रमण थप फैलिन नदिन पोल्ट्री फार्महरूमा कडाइ गरिएको, अनावश्यक प्रवेश रोक लगाइएको तथा निसंक्रमण र निगरानी व्यवस्था कडा पारिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले रोग मानिसमा समेत सर्न सक्ने जोखिम भएकाले सावधानी अपनाउन, मासु राम्रोसँग पकाएर मात्र सेवन गर्न र कुनै पनि असामान्य मृत्यु वा बिरामी देखिएमा तत्काल जानकारी दिन आग्रह गरेको छ।